Wednesday, December 31, 2014

म बोल्दिन, म सुन्दछु

    म बोल्दिन, म सुन्दछु। म हेर्दिन, म देख्दछु। म लेख्दिन, म कोर्दछु। म स्वयं आफुलार्इ भुलेर खाजिरहेछु, स्वार्थ भित्र लुकेको मानव जातिको यथार्थ। म कोरिरहेछु कालो रङ्ले सेतो पानामा कहिले मेरो पीडा कहिले मानव जगतको क्रिडा त कहिले बोक्रे राजनितिको खोक्रो सपना, कहिले उत्पिडन, कहिले हाँसो, कहिले पिल्सिएका वर्गको रोदन। म कोरिरहेछु बिना कुनै बन्धन बिना कुनै सीमा, म कालो रङ्ले सेतो धरती पोतीरहेछु।

   म तितो यथार्थ माथि वौध्दिक चिन्तनको धरातल देखिरहेछु अनि त्यही देखाइलार्इ सोचाइमा रूपान्तरण गर्दै रङ्ले भित्तो पोतिरहेछु। मेरो यो सिलसिला जारी रहनेछ जबसम्म भित्तामा कुँदिएका अक्षरको मर्म बुझिँदैन, जबसम्म गरीबी र उत्पिडनमा पिल्सिएका वर्गको अनि रोग र शोकले थिचिएका वर्गको उत्थान हुँदैन, तिनिहरूको पहिचानको सम्मान हुँदैन।

   म पोतिरहन्छु हरेक नागरिकले स्वतन्त्रताको अाभाष नगरेसम्म, हरेक महिलाले आत्मसम्मान र हरेक बालकले बाल अधिकारको प्रतिवध्दता नपाएसम्म, म पोतिरहन्छु कालो रङ्को अन्तिम थोपा रहेसम्म, सडकको भित्तो रित्तो नभएसम्म म पोतिरहन्छु, पोतिरहन्छु


0 comments:

Post a Comment